सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा-हुम्ला सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो

तस्विरः अनिल शाही
तस्विरः अनिल शाही
२०८३ जेठ १८, ११:३० नारायण अवस्थी

धनगढीः बाजुरा र हुम्लाको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली लाम्पाटा पुगेर हुम्ला फर्केको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली लाम्पाटा र च्याचौर पुगेर आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेश शाहीले जानकारी दिए। उनका अनुसार दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न आएको टोली घटना भएको क्षेत्र लाम्पाटा, च्याचौर क्षेत्र पुगेर सिमकोट पुगेको हो।

टोलीले सिमकोटमा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। हुम्लामा छलफल गरेर उक्त टोली घटनाबारे छलफल गर्न बाजुरा आउने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

गत जेठ २ गतेदेखि ४ गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्रहरुप लिएपछि गृहमन्त्रालयले टोली गठन गरेको थियो। हुमलाकझ खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थालीका स्थानीयले लाम्पाटा पुगेर बाजुराका स्थानीयमाथि कुटपपिट गरेका थिए।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेर हिमाली गाउँपालिका-३ लाम्पाटा-च्याचौरमा प्रहरीचौकी निर्माण सुरु गरेपछि विवाद भएको हो। सीमा विवादले उग्ररुप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच झडप हुँदा  वडा सदस्यसहित बाजुराका चार जना घाइते भएका थिए।

घाइते चारै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो। सोही विवाद समाधान गर्न यही जेठ ११ गते नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा अध्ययन टोली र नेपाल प्रहरीका एसएसपी विमलराज पौडेलको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस