रवि लामिछाने आज भारत भ्रमणमा जादै
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि शुक्रबारसम्म भारत भ्रमणमा जाने भएका छन्।
भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्नेकार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। भ्रमणका क्रममा उनको अयोध्याको निजी भ्रमण पनि तय गरिएको छ।
सभापति लामिछानेसँगै पार्टीको आधिकारिक प्रतिनिधिमण्डलमा सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुने प्रवक्ता झाले जानकारी दिएका छन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटघाट तथा कार्यक्रमहरूको व्यवस्थापन र समन्वयका लागि आवश्यक सहकार्य गरिरहेको जनाइएको छ।