तिङ्कर नाका सञ्चालनको आशामा छाङरु र तिङ्करका व्यापारी
दार्चुलाः भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१, छाङरु र तिङ्करका स्थानीय चीनको ताक्लाकोट जान तिङ्कर नाका खुल्ने प्रतीक्षामा छन् ।
सदियौँदेखि यहाँको छाङरु र तिङ्कर गाउँमा बसोबास गर्ने सौका समुदाय चीनस्थित ताक्लाकोट बजारमा व्यापारका लागि जाने गर्छन् । तिङ्कर नाका आधिकारिक नाकाका रूपमा नभए पनि लामो समयदेखि यहाँका स्थानीय (सौका समुदाय) ले ताक्लाकोटको स्थानीय सरकारसँगको समन्वयमा यो नाकामार्फत आवतजावत गर्दै आएका छन् ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि ताक्लाकोटस्थित स्थानीय सरकार, परराष्ट्र मन्त्रालयका प्रतिनिधिसँग व्यापारीहरूका लागि नाका सञ्चालनका विषयमा आग्रह गरिएको व्यास गाउँपालिका–१, छाङरुका स्थानीय व्यापारी एवं नेपाल–चीन हिमालय मैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहोराले जानकारी दिए।
तिङ्कर नाका चाँडै खोल्ने आश्वासन पाएको उनले बताए। नाका खुलेपछि स्थानीय व्यापारी व्यवसायका लागि चीनको ताक्लाकोट जाने तयारीमा छन् । उनका अनुसार ताक्लाकोटमा केहि महिना खाद्य सामग्री र लुगाकपडाको व्यापार गरिन्छ। सोही व्यापारबाट आम्दानी भएको पैसाले जीविका चलाउने गरिन्छ। ताक्लाकोटमा दार्चुलाका स्थानीयले ३२ वटा पसल र चार वटा होटेल सञ्चालन गरेको उनले बताए। गत वर्ष साउन ७ देखि ९ सम्म दुई दिनका लागि तिङ्कर नाका खुलेको थियो ।
नेपाल–चीन तिङ्कर नाका खुल्नेबारे स्थानीय प्रशासनलाई कुनै जानकारी नआएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिए।
विगतदेखि नै छाङरु र तिङ्करका ७० देखि ८० जना नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली र भारतीय सामानको व्यापार गर्ने व्यापारी बोहोराले बताए। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार चीनको ताक्लाकोट जानका लागि यस वर्ष व्यास गाउँपालिकाका २१२ जनाले प्रवेश अनुमतिपत्र लिएका छन् । तीमध्ये १५२ जनाले अनुमतिपत्र नवीकरण गराएका छन् भने ६० जनाले नयाँ अनुमतिपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए।
चीनले सापु भन्ने ठाउँमा सुरक्षाकर्मी बस्ने संरचना निर्माण गरेर कच्ची सडक पु¥याएको छ । चीनतर्फ सापुमा सुरक्षाकर्मीको चेकपोस्ट छ भने नेपालतर्फ व्यास गाउँपालिका–१, तिङ्करगाउँको छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको प्रहरी चौकी सञ्चालनमा छ । कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहेको ताक्लाकोट नाका आब २०८०/८१ देखि व्यापारीको आवतजावतका लागि मात्रै खुल्दै आएको छ ।