हुम्लाको सामुदायिक वनले बाजुराको लाम्पाटा खाली गर्ने उर्दी जारी गर्यो
धनगढी: हुम्लाको एक सामुदायिक वनले बाजुराको हिमाली गाउँपालिका-३ लाम्पाटाका स्थानीयलाई गाउँ छोड्न उर्दी जारी गरेको पत्र सार्वजनिक भएको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित थला सामुदायिक वन उपभोक्ता समूहले बाजुराको लाम्पाटाका स्थानीयलाई घर खाली गर्न उर्दी जारी गरेको हो।
हुम्लाको सामुदायिक वनले बाजुराको लाम्पाटा, चियाचौर क्षेत्रमा रहेका सार्वजनिक भवन, घर- टहरा खाली गर्न जेठ ५ गते सार्वजनिक सूचना टाँसिएको फेला परेको हो।
सामुदायिक वनका अध्यक्ष देवराज रावल, सचिव किशोर रावलद्वारा जारी गरिएको सूचनामा जेठ ८ गतेभित्र लाम्पाटा-चियाचौर क्षेत्र खाली गर्ने समय सीमा तोकिएको छ।
सामुदायिक वनले लाम्पाटा-चियाचौर लगायत जुडली साँघु, खडीखानी लेख, उदारगाड हुँदै धौले कस्तुरी क्षेत्र हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ मा पर्ने जिकिर गरिएको छ।
सामुदायिक वनले बाजुराको लाम्पाटा चियाचौर र रानीसैन क्षेत्रमा खार्पुनाथ-२ का स्थानीयका जिजुबाजे तथा पुर्खाहरूले भोगचलन र चरीचराउ गर्दै आएको जिकिर गरेको छ।
हुम्लाको थली गाउँ लाम्पाटाबाट एक दिनको पैदल दुरीमा पर्ने भए पनि त्यो गाउँका स्थानीयले विगतदेखि नै बाजुराको लाम्पाटा र गुम्बा क्षेत्रका स्थानीयमाथि कुटपिट, लुटपाट गर्दै आएको स्थानीयको गुनासो छ।
प्रहरी प्रशासनको समेत उपस्तिथि नरहेको र स्थानीयको जनसंख्या कम भएको फाइदा उठाउँदै हुम्लीहरूले बाजुरीलीहरू माथि ज्यादती गर्दै आएको विषय अहिले आएर सार्वजनिक भएको छ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा "हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ" अभियानको टोली लाम्पाटा पुग्दा हुम्लीहरूले आक्रमणको प्रयास गरेका थिए।
हुम्लीहरूले जेठ ३ गते नै लाम्पाटाका वडा सदस्य पेमा गारा गुरुङसहितका पाँच जना स्थानीयलाई कुटपिट गरेर बन्धक बनाएको विषय पनि जेठ ५ गते धनगढीको टोली त्यहाँ पुग्दा सार्वजनिक भएको हो।
जडीबुटी र वन्यजन्तुको तस्करी गर्न एकाधिकार जमाउने कुत्सित मनसायले हुम्लीहरूले बाजुराको लाम्पाटा-चियाचौरमा स्थापना गरिन लागेको प्रहरी चौकीको बिरोध गर्दै उक्त क्षेत्र हुम्ला जिल्लामा पर्ने दाबी गरेका हुन्। तर सरकारी कागज र नक्सामा भने लाम्पाटा-चियाचौर- रानीसैन क्षेत्र बाजुराको हिमालली गाउँपालिका वडा नम्बर ३ को भूभाग रहेको देखिन्छ।