सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोलुखुम्बुमा पर्यटकको चहलपहल सुरु

। फोटो स्रोत ।
२०७६ भदौ १३, ०५:५२ खबर संवाददाता

सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा पर्यटकहरुको चहलपहल सुरु भएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यहरुको अवलोकन गर्न आउने पर्यटकहरुको आगमन दिन प्रतिदिन बढेसँगै खुम्बुमा पर्यटकको चहलपहल सुरु हुन थालेको हो।

साउन मसान्तसम्म सुनसान देखिएको खुम्बुमा अहिले क्रमिक रुपले विदेशी पर्यटकहरुको आगमन बढ्न थालेको खुम्बुका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए। उनका अनुसार भदौको अन्त्यदेखि पर्यटकको आगमन निकै बाक्लो हुने गर्दछ। अहिले पनि दैनिक १५० भन्दा बढी पर्यटक लुक्लाबाट उकालो लाग्न थालेको सगरमाथा राष्ट्रिय निकुञ्ज जोरसल्ले चेकपोष्टले जनाएको छ।

पर्यटक नआउने महिना जेठ अन्तिम सातादेखि असार, साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीहरुसमेत अधिकांश फर्किसकेको होटल व्यवसायी ङातेम्बा शेर्पाले बताए। यतिखेर पदमार्गहरुमा बाह्य पर्यटकहरुको आवातजावत निक्कै बढ्न थालेकोे खुम्बु पासङ ल्हामु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश घिमिरेले जानकारी दिए।

नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख ईमानाथ अधिकारीका अनुसार पर्यटकहरुका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान संख्या दिन प्रतिदिन बढिरहेको छ। अहिले लुक्ला विमानस्थलमा दैनिक १५ ओटा विमानले उडान गर्ने गरेको उनको भनाइ छ। अधिकांश विदेशी पर्यटकहरुले भरिएर आउने विमान लुक्लाबाट फर्कँदा भने खाली जाने गरेको कार्यलयका प्रमुख अधिकारीले बताए।

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीहरुलाई पर्यटक दर्ता गर्न भ्याइ–नभ्याइ भएको कार्यलयले जनाएकोे छ। पदमार्ग र हवाईमार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुले जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान छ। सो कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ।

कमेन्ट लोड गर्नुस