कैलालीको लम्कीचुहाबाट एक बालकसहित तीन जना बेपत्ता
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ गप्काबाट एक बालकसहित तीन जना बेपत्ता भएका छन्। गप्काका १२ वर्षीय बालक राजेन्द्र साउँद, सोही स्थानका १८ वर्षीय विनोद साउँद र धनगढी घर बताउने १९ वर्षीय कृष्ण मल्ल सोमवार बिहान ११ बजेदेखि बेपत्ता भएका हुन्।
राजेन्द्रलाई विनोद र कृष्णले मिलेर बेपत्ता बनाएको आफन्तले आशंका गरेका छन्। गप्काकै राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरतत राजेन्द्र आफ्नी बृद्ध बज्यैसँग बस्दै आएका थिए भने आमाबुवा रोजगारीका लागि भारतमा छन्।
राजेन्द्रकी मामली तर्फकी बज्यै धनसरादेवी साउँदले राजेन्द्रको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका निवेदन दिएको बताइन्।
अन्दाजी चार फिट र गहुँगोरो वर्णका राजेन्द्रलाई देखेका नजिकको प्रहरी चौकी तथा मोवाइल नम्बर ९८६५६३३६०६ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।