सुदूर नेपाललाई विश्वसँग जोड्दै

७० हजार हेक्टर खेत बाँझै

२०७६ भदौ १३, १२:५६ खबर संवाददाता

यस वर्ष ७० हजार बढी हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन नसकेको कृषि विभागले जनाएको छ। दश दिन ढिलो मनसुन सुुरु हुनु र तराईमा आएको बाढीका कारण यस वर्ष ७० हजार ८ सय ७६ हेक्टर क्षेत्रफल खेतमा धान रोपाइँ हुन नसकेको हो। 

कूल रोपाई हुने १५ लाख हेक्टर क्षेत्रफलमध्ये यस वर्ष १३ लाख ८ सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा ७० हजार बढी हेक्टर खेत बाँझै रहेको हो। कृषि विभाग अन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका अनुसार यस वर्ष भदौ १० गतेसम्म देशभर ९४ दशमलव ८३ प्रतिशत धान रोपाइँ भएको छ। यो पोहोरको तुलनामा एक प्रतिशत कम हो। गएको वर्ष ९५ दशमलव ३९ प्रतिशत धान रोपाइँ भएको थियो।

औषतमा यस बर्ष शुन्य दशमलव ५६ प्रतिशतले धान रोपाइँ घटेको केन्द्रले जनाएको छ।  केन्द्रका प्रमुख सवनम शिवाकोटीका अनुसार यस बर्ष सबैभन्दा धेरै रोपाइँ सुदुरपश्चिममा १०० प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ९२ प्रतिशत मात्रै रोपाइँ भएको छ। प्रदेश १ मा ९३ दशमलव ८८ प्रतिशत, प्रदेश २ मा ९३ दशमलव ३१ प्रतिशत, प्रदेश ३ मा ९७ दशमलव १७ प्रतिशत धान रोपाइँ भएको छ।

यस्तै गण्डकी प्रदेशमा ९२ दशमलव ८९ प्रतिशत, प्रदेश ५ मा ९४ दशमलव ३९ प्रतिशत, कर्णाली प्रदेशमा ९६ दशमलव १६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १०० प्रतिशत रोपाइँ भएको छ । यससँगै यस वर्षको धान रोपाइँ सकिएको विभागले जनाएको छ।

धान रोपाइँ कम भएपछि यस वर्ष पोहोरको भन्दा उत्पादन पनि घट्ने अनुमान छ। गएको वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो।

कमेन्ट लोड गर्नुस