कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
कैलाली: कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित नौ जनालाई पक्राउ गरेको छ। छुट्टाछुट्टै तीन घटनामा लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
टिकापुर नगरपालिका–९ खक्रौलाबाट १९ ग्राम १६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–४ निवासी ३० वर्षीय तेज बहादुर बिटालु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ निवासी १९ वर्षीय सोहन नेपाली रहेका छन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले अटोमा सवार उनीहरूलाई शंकाका आधारमा जाँच गर्दा लागूऔषध फेला पारेको जनाएको छ।
यस्तै, गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोडस्थित एक होटलबाट १२० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ घर भई हाल गोदावरी–२ बस्दै आएका ३६ वर्षीय तिलक वली, धनगढी उपमहानगरपालिका–१० की १९ वर्षीया संगिता राना, कैलारी गाउँपालिका–८ की १९ वर्षीया नबिना चौधरी र बझाङको जयपृथ्वी नगरपालिका–७ की १९ वर्षीया अस्मिता खत्री रहेका छन्।
प्रहरीका अनुसार लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले तिलक वलीले सञ्चालन गरेको ‘आर.बी. होटल’ मा खानतलासी गर्दा लागूऔषध फेला पारेको हो।
त्यसैगरी, टिकापुर–९ खक्रौलाबाट शुक्रबार राति ३ ग्राम ६६० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ निवासी २१ वर्षीय दिच्छु चौधरी, १९ वर्षीय राजेश सोप बराल र एक १८ वर्षीय किशोर रहेका छन्।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले बा ६२ प २९७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको जनाएको छ। प्रहरीले लागूऔषधसहित स्कुटर पनि नियन्त्रणमा लिएको छ।