सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुलको वाल भत्किएपछि टनकपुर लिंक रोड भासियो

२०७६ भदौ १३, ११:१८ खबर संवाददाता

भारतीय सीमावर्ती बजार टनकपुर जोड्ने कञ्चनपुरको ब्रह्मदेव लिंक रोड निर्माणकै क्रममा भासिन थालेको छ। भीमदत्त नगरपालिका ८ र १० जोड्ने खन्या खोलाको पक्की पुल नजिकैको कालोपत्रे सडक निर्माणाधीन अवस्थामा नै भासिन सुरु गरेको हो।

जेठ महिनामा पहिलो चरणको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको लिंक रोडको कालोपत्रे एक महिनामा नै भासिएपछि स्थानीयले अनियमितता भएको आशंका गरेका छन्। स्थानीय जयामती धामीले  सञ्चालनमा आएको एक महिनामै सडक भत्किन सुरु भईसकेको बताईन्। 

संघीय सरकारको २१ करोड ४ लाख लागतमा निर्माण भइरहेको टनकपुर लिंक रोड निर्माणको जिम्मा राजेन्द्र निर्माण सेवाले पाएको थियो। २०७३ फागुनबाट निर्माण सुरु भएको लिंक रोडको पहिलो चरणको काम सम्पन्न भईसकेको छ। 
खोलाको किनारमा बलियो खालको पर्खाल निर्माण नभएका कारण कालोपत्रे भासिएको स्थानीयहरुले बताएका छन्।

‘पुलको वाल भत्किएपछि उक्त वालका कारणले सडक पनि केही स्थानमा भासिएको छ,’ राजेन्द्र निर्माण सेवाका कार्यकारी निर्देशक रोशन भट्टले भने, ‘पुलको ठेक्का दोश्रो कम्पनीको भएकोले पुल निर्माण भएपछि सडक पनि मर्मत गर्ने तयारी छ।’

कालोपत्रे सडकसँगै खन्या खोलामाथिको पक्की पुलको वाल समेत भत्किएको छ। बर्षातको समयको पानीले पुलको वाल समेत बगाएर लगेको स्थानीय रामसिंह धामीले बताए। उक्त पक्की पुल दुई करोड २५ लाखको लगानी निर्माण भएको थियो।

एमके निरज जेभीसँग पुल निर्माणको सम्झौता भएको थियो। निर्माण सम्पन्न नभएको अवस्थामा नै पुलको वाल भत्किएपछि उक्त वालका कारणले गर्दा नै कालोपत्रे सडक समेत भासिएको स्थानीय बताउँछन्।सडक डिभिजन कार्यालय महेन्द्रनगरले खन्या खोलाको पुल निर्माणको जिम्मा पाएको एमके निरज जेभीलाई तत्काल पुल मर्मतका लागि पत्राचार गरेको जनाएको छ।

भदौ ४ गते पत्र लेखेर सडक डिभिजनले जेभीलाई पुल मर्मतको लागि ताकेता गरेको टनकपुर लिंक रोडको फिल्ड हेरिरहेका सडक डिभिजन कार्यालय महेन्द्रनगरका सव–ईन्जिनियर सनम खड्काले बताए। भत्किएको खन्या खोलामाथिको पुल तत्काल मर्मत गर्ने एमके निरज जेभीका लोक ठकुराठीले दाबी गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस