कञ्चनपुरमा फरार प्रतिवादी पक्राउ
कञ्चनपुर: कञ्चनपुर प्रहरीले अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फैसला कार्यान्वयनको क्रममा सम्मानित जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलापछि फरार रहेका प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वैशाख १७ गते उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएकी बेलौरी नगरपालिका–२ निवासी ३२ वर्षीया भावना चौधरी रहेकी छन्।
त्यसैगरी चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएका बेलौरी नगरपालिका–३ खिरिया निवासी २४ वर्षीय निरज राना पनि पक्राउ परेका छन्।
प्रहरीले दुवै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।