सुदूर नेपाललाई विश्वसँग जोड्दै

मूल्यवृद्धि नियन्त्रणका लागि कदम चाल्न सरकारसँग निर्माण व्यवसायी संघको माग

२०८३ जेठ १, ०९:४१ खबर संवाददाता

धनगढी: निर्माणजन्य सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र संकटमा परेको भन्दै निर्माण व्यवसायी संघ कैलालीले सरकारविरुद्ध विरोध जनाएको छ ।

संघले बिहिबार जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधान गर्न माग गरेको हो ।

निर्माण व्यवसायीहरूले पछिल्लो समय सिमेन्ट, डण्डी, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा निर्माण कार्य प्रभावित भएको बताएका छन् ।

उनीहरूले मूल्यवृद्धिका कारण ठेक्का सञ्चालन गर्न कठिनाइ भएको, लागत अत्यधिक बढेको तथा समग्र निर्माण क्षेत्र नै धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।

माग सम्बोधन नभए निर्माण क्षेत्र थप संकटमा पर्ने चेतावनीसमेत व्यवसायीहरूले दिएका छन् ।

ज्ञापनपत्र बुझाएपछि निर्माण व्यवसायी संघ कैलालीले जिल्ला प्रशासन कार्यालयको गेटअगाडि आधा घण्टा धर्ना कार्यक्रम आयोजना गरेको थियो ।

निर्माण व्यवसाय सङ्घ कैलालीका अध्यक्ष दीर्घराज जोशीले सरकारले शीघ्र ठोस कदम नचाले थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिए ।

कमेन्ट लोड गर्नुस