कैलाली–कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ
धनगढी : कैलाली र कञ्चनपुरबाट प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। मंगलबार गरिएको छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाउँपालिका–६ पृथ्वीपुरबाट २५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ३५ वर्षीय राजेन्द्र चौधरी, २५ वर्षीय सन्देश डगौरा र २० वर्षीय बिनोद चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेपछि पक्राउ गरिएको जनाएको छ।
यस्तै, बेलौरी नगरपालिका–१० भुडाँ मैलीबाट १४ ग्राम ८४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित बेलडाँडी गाउँपालिका–१ रौलेश्वरका २२ वर्षीय हरेन्द्र साउँद पक्राउ परेका छन्।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका साउँदलाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।