सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा प्रदेश र कैलालीका सभापति अनुपस्थित

२०८३ वैशाख २६, ०२:११ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला शनिबारदेखि धनगढीमा सुरू हुँदैछ। भेलामा सहभागी हुन पार्टी सभापति गगनकुमार थापासहितका शीर्ष नेताहरू धनगढी पुगिसकेका छन्।

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि थापा पहिलोपटक निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन्। थापाको आगमनलाई लिएर प्रदेशको काँग्रेस राजनीतिमा विशेष चासो देखिएको छ।

काँग्रेस नेता–कार्यकर्ताले थापालाई धनगढी विमानस्थलमा स्वागत गरेका थिए। स्वागतका लागि देउवा पक्षीय मानिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आफ्ना क्याबिनेटका मन्त्रीसहित विमानस्थल पुगेका थिए। तर सुरक्षाकर्मीले मुख्यमन्त्री शाहलाई मात्रै भित्र जान दिए, अन्य मन्त्रीहरूले विमानस्थलभित्र थापासँग भेट गर्न पाएनन्।

मुख्यमन्त्री र मन्त्रीहरू स्वागतमा पुगे पनि देउवा पक्षीय प्रदेश सभापति वीरबहादुर बलायर र काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट भने विमानस्थलमा देखिएनन्। स्रोतका अनुसार प्रदेश सभापति बलायर भेलामा सहभागी नहुने सम्भावना रहेको छ।

कैलाली सभापति भट्टले भने कार्य व्यस्तताका कारण कार्यक्रममा सहभागी हुन नसकेको बताएका छन्। राष्ट्रिय सभा सदस्यसमेत रहेका भट्टले राजनीतिक कारण नभई संसदीय कार्य व्यस्तताका कारण काठमाडौँमै रहेको स्पष्ट पारे।

‘संसदीय कामकाजका कारण म काठमाडौंमै छु। राजनीतिक रूपमा सहमति–असहमति राख्ने कुरा अर्कै हो,’ भट्टले भने, ‘अहिले कार्य व्यस्तताका कारण सहभागी हुन पाएको छैन।’

नेताहरूका अनुसार देउवा पक्षका अन्य केही जिल्ला सभापति पनि भेलामा सहभागी नहुने सम्भावना छ। काँग्रेसले दुई दिनसम्म चल्ने यस भेलामा प्रतिनिधि सभाको निर्वाचन परिणाम तथा स्थानीय तहका जनप्रतिनिधिहरूको कामकारबाहीबारे समीक्षा हुने जनाएको छ।

कमेन्ट लोड गर्नुस