सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

२०८३ वैशाख २६, ०१:०२ रासस

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन प्रवद्र्धनप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज भएको दोस्रो अन्तरराष्ट्रिय आप्रवासन समीक्षा मञ्चको बहसमा उनले सुरक्षित एवं व्यवस्थित  आप्रवासनमा जोड दिँदै आएको नेपाल प्रमुख श्रम आपूर्तिकर्ता राष्ट्रका भएकाले  सुरक्षित र मर्यादित आप्रवासनका पक्षमा दृढ रहेको बताए।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले करिब ४० लाख नेपाली आप्रवासी श्रमिकले श्रम गरेको मुलुकको अर्थतन्त्र तथा नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरे। विप्रेषण, सीप र ज्ञान हस्तान्तरणमार्फत आप्रवासी नेपालीले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका उनले बताए।

उनले भर्ती प्रणाली, लैङ्गिक उत्तरदायी आप्रवासन नीति, सीप विकास, मानव बेचबिखन नियन्त्रण, सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सामाजिक सुरक्षाको व्यवस्था र भर्ती सेवाको ‘डिजिटल’ प्रणालीकरणलगायत क्षेत्रमा नेपालले सुधारका विभिन्न पहल अघि बढाएको जानकारी दिए।

राजदूत थापाले अनियमित आप्रवासन, मानव बेचबिखन, श्रम शोषण तथा समन्वय अभावजस्ता चुनौती विद्यमान रहेका उल्लेख गर्दै ती समस्याको समाधानका लागि अन्तरराष्ट्रिय सहकार्य र साझा जिम्मेवारी आवश्यक भएकामा जोड दिए।

कमेन्ट लोड गर्नुस