सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

२०८३ वैशाख २५, ०२:०० रासस

काठमाडौँ: लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदान–प्रदान दूत’ नियुक्त गरेको छ। उपकुलपति प्राध्यापक डा सुवर्णलाल बज्राचार्यले फुलाई दूत नियुक्तिको प्रमाणपत्र प्रदान गरेका हुन्। 

विश्वविद्यालयले दूतमा नियुक्त चिनियाँ नागरिक फु च्याङले अन्तरराष्ट्रिय विद्यार्थी भर्ना प्रवद्र्धन तथा सांस्कृतिक आदानप्रदान तथा पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ। सन् २०२५ देखि सोही विश्वविद्यालयमा बौद्ध दर्शनशास्त्र अध्ययनरत उनले चीनबाट परोपकारी सहयोग जुटाएर नेपाली ग्रामीण बस्तीमा इनार निर्माण, विश्वविद्यालय पुस्तकालयमा सहयोगलगायत विभिन्न परियोजनामा सक्रिय योगदान पुर्‍याएकाे विश्वविद्यालयले जनाएको छ।

नवनियुक्त दूत फु छियाङले बौद्ध दर्शनशास्त्र अध्ययनमा आफ्नो शैक्षिक यात्रालाई अझ सुदृढ बनाउँदै अन्तरराष्ट्रिय स्तरमा बौद्ध शिक्षाको प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले नेपालकै एक मात्र बौद्ध विश्वविद्यालयको पहिचान र बौद्ध धर्मको वास्तविक सार विश्वसामु प्रस्तुत गर्ने लक्ष्य लिएका छन्।  विश्वविद्यालयले पनि आगामी दिनमा अन्तर्राष्ट्रिय सहकार्य र सांस्कृतिक आदान–प्रदानलाई अझ सशक्त बनाउने विश्वास लिएको छ।

कमेन्ट लोड गर्नुस