सुदूर नेपाललाई विश्वसँग जोड्दै

आत्महत्या दुरुत्साहन : कैलालीमा तीनजना ५०–५० हजार धरौटीमा छुटे

२०७६ भदौ ११, ०५:५९ खबर संवाददाता

कैलाली जिल्ला अदालतको आदेशपछि आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले हिरासतमा राखेका तीनजना रिहा भएका छन्। जिल्ला न्यायधिश जयानन्द पनेरुको एकल इजलाशमा भएको थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। दालतको आदेश अनुसार ५०–५० धरौटी लिएर उनीहरुलाई छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए।

रिहा हुनेमा जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ का रघु कोली, उनकी श्रीमती कालीदेवी कोली र छोरा राजेश कोली रहेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। गत असारमा कोली दम्पत्तीकी बुहारी निर्मला सुनार कोलीले झुण्डिएर आत्महत्या गरेकी थिईन्।

माईती पक्षले निर्मलालाई मर्न बाध्य बनाएको भन्दै दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। तर निर्मलाले आत्महत्या गरेको समयमा उनका श्रीमान राजेश कोली भने वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको प्रतिवादीका तर्फबाट बहस गरेका  अधिवक्ता हिमालय विक्रम विष्टले जानकारी दिए। तर माईती पक्षले भने आत्महत्या गर्न बाध्य पारेको भन्दै दुरुत्साहनको मुद्दा हालेका थिए।

 सोही आधारमा प्रहरीले उनीहरुलाई गत साउन २० मा पक्राउ गरेको थियो। मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा आत्महत्या दुरुत्साहन गर्न नहुने व्यवस्था गरेको छ। आत्महत्या गर्न बाध्य पार्नेलाई ५० हजार रुपैया जरिवाना र ५ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ। भदौँदेखि लागु भएको अपराध संहिता पछि कैलालीमा आत्महत्या दुरुत्साहन सम्बन्धीका १४ वटा मुद्दा दर्ता भएपनि अभियोग प्रमाणित भएर कैद सजया सुनाईएको उदाहरण भने नरहेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस