बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बैतडीः बैतडीमा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाईते भएका छन्।
जिल्लाको मेलौली नगरपालिका–८ कोटीगाउँस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका हुन्। बिहीबार राति करिब साढे १० बजेतिर मर्छलेबाट बगौरातर्फ जाँदै गरेको लु ५ त १५३९ नम्बरको ट्याक्टर सडक छेउमा पल्टिएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडूका अनुसार ट्याक्टरको ट्रालीमा सवार यात्रुहरू दुर्घटनामा परी घाइते भएका हुन्। घाइते हुनेहरूमा स्थानीय पदम ठगुन्ना, धनबहादुर बिष्ट, बलराम ठगुन्ना, सुवास ठगुन्ना, आकाश दमाइ, पशुपति दमाइ र अनिल ठगुन्ना रहेका छन्।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेकोे छ। प्रहरीले ट्याक्टर चालक सुरेश ठगुन्नालाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।