कृष्णपुर नगरपालिकामा नहर अतिक्रमणको आरोप, स्थानीयको खेत डुबानको जोखिम
कञ्चनपुरः कृष्णपुर नगरपालिका–९ पचढक्कीमा नहरको जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका छन्। नहरको जमिन अतिक्रमण हुँदा पानीको निकास अवरुद्ध भई बर्खायाममा खेत डुबानको जोखिम बढेको स्थानीयको गुनासो छ।
पचढक्कीका स्थानीय पुरन रानाका अनुसार नगरपालिकाले नहर नजिकै ‘छहारी’ निर्माण गर्न खोज्दा खेतीयोग्य जमिनमा पानी पस्ने अवस्था सिर्जना भएको हो। खेती–किसानी गरेर जीविकोपार्जन गर्दै आएका रानाले बर्खायाममा पानी निकास रोकिए बालीमा ठूलो क्षति हुने बताए।
“देशभर अतिक्रमण हटाइँदैछ तर हाम्रो नगरपालिकाले उल्टै अतिक्रमण गर्दैछ,” रानाले भने। उनले यसबारे पटक–पटक नगर प्रमुखलाई जानकारी गराइसकेको दाबी गरे। “३–४ पटक फोन गरेँ, भोलि आउँछु भन्नुहुन्थ्यो। अहिले त फोन नै उठ्न छाड्नुभएको छ,” उनले गुनासो पोखे।
रानाका अनुसार वडा अध्यक्ष समेत स्थलमा आएर केही नबोली फर्किएका थिए। “नहरको जग्गा अतिक्रमण गरेर निकासको व्यवस्था नगरी कस्तो विकास हो, बुझ्न सकिन,” उनले भने। कच्ची मेढ मात्र भएकाले अहिले पनि खेत कटान भइरहेको र निकास नै बन्द भए बाली जोगाउन नसकिने उनको भनाइ छ।
स्थानीयका अनुसार पूजा गर्ने स्थल निर्माण हुनु सकारात्मक भए पनि सबैलाई सहज हुने गरी पानी निकासको उचित व्यवस्था हुनुपर्छ। “हामीले चुनेका प्रतिनिधिले नै समस्या नसुने कसले सुन्छ?” रानाले प्रश्न गरे।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा हेमराज ओझा सुरुमा फोन सम्पर्कमा आउन सकेनन्। पछि सम्पर्क हुँदा उनले कार्यक्रमका लागि बाहिर रहेको र विवाद देखिएपछि काम रोक्न निर्देशन दिएको बताए। “बिहान केही काम भएको थियो, त्यसपछि मैले काम रोकेको छु,” मेयर ओझाले भने।
तर मेयरसँग कुरा भएको करिब ३० मिनेटपछि पुनः अर्को टिपर आएर भरान गरेको जानकारी आएको स्थानीयको दाबी छ। साँझ करिब ५:३० बजे घटनास्थलको भिडियो समेत पठाइएको छ। स्थानीयका अनुसार प्रहरी पनि स्थलमा पुगेर अनुगमन गरेको थियो।
काम रोक्न निर्देशन दिएको भनिएपछि पनि टिपर कसरी पुग्यो भन्ने विषयमा स्थानीयले प्रश्न उठाएका छन्। नहरको सार्वजनिक जमिनमा निर्माण कार्यको वैधानिकता र पानी निकासको दीर्घकालीन समाधानबारे नगरपालिकाको स्पष्ट जवाफ आउन बाँकी छ।