दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
दार्चुलाः भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले यहाँका थप डेढ सय अव्यवस्थित बसोवासी, भूमिहीन र सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरेको छ।
जिल्लाको लेकम गाउँपालिकामा पालिकास्तरीय भूमि समस्या समाधान सहजीकरण समितिको बैठकबाट कानुन अनुसार जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी भइरहेको लेकम गाउँपालिका अध्यक्ष तथा पालिकास्तरीय सहजीकरण समिति प्रमुख रामदत्त जोशीले जानकारी दिए। उनले गाउँपालिकाभित्र रहेका छ वटै वडाबाट निवेदन परेका १५० जना अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणका लागि समन्वय गरिएको बताए। प्रक्रिया पुगेका भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गा वितरणका लागि काम भइरहेको बताइएको छ।
यसअघि आयोगले यहाँको विभिन्न स्थानीय तहका ८० जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिए। आयोगले यहाँको शैल्यशिखर नगरपालिकाका ५२ जना, दुहुँ गाउँपालिकाका १९ जना महाकाली नगरपालिकाका–७ र नौगाड गाउँपालिकाका–४ जना गरेर ८० जना अव्यवस्थित बसोवासी, भूमिहीन र सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएको उनले बताए। दुई हजार ८०३ जना नयाँ र ५३० जना अपुरा र अधुरा रहेका गरेर तीन हजार ३३३ जनामध्ये ८० जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको बताइएको छ।
आयोगले अब यहाँका तीन हजार २५३ जनालाई जग्गाधनी प्रमाणपुर्जा दिलाउन बाँकी रहेको बताए। साथै पाँच सयभन्दा बढी फाराम आयोगको सिस्टम नचलेका कारण लगतमा प्रविष्टि हुन बाँकी रहेको तथा कित्ताकाट नभएका र सेतो प्रमाणपुर्जा भएकालाई पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न बाँकी रहेको बताइएको छ।
जग्गाधनी प्रमाणपुर्जा दिलाउन बाँकी रहेका आयोगमा लगत प्रविष्टि भएका अव्यवस्थित बसोवासी, भूमिहीन र सुकुमवासीलाई प्रमाणपुर्जा दिलाउने प्रक्रिया समेतअघि बढेको उहाँले जानकारी दिए। वितरण गरिएका प्रमाणपुर्जा भूमिहीन सुकुमवासी, अव्यवस्थित बसोवासी र भूमिहीन दलितको लगत सङ्कलनसम्बन्धी कार्यविधि २०७८ अनुसार जग्गाको नापजाँच, मुचुल्का र राजस्व सङ्कलनलगायतका आवश्यक प्रक्रिया पूरा गरेर वितरण गरिएको अध्यक्ष धामीले बताए।
यहाँको महाकाली नगरपालिकामा ४३१, शैल्यशिखर नगरपालिकामा ६२८, लेकम गाउँपालिकामा १७३, नौगाड गाउँपालिकामा ३२७, मार्मा गाउँपालिकामा १६८, अपि हिमाल गाउँपालिकामा ६९१, मालिकार्जुन गाउँपालिकामा ९४७, दुहुँ गाउँपालिकामा १६१ र व्यास गाउँपालिकामा २६६ भूमिहीन, दलित, सुकुमवासी, अव्यवस्थितको सङ्ख्या रहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले जनाएको छ।