धनगढीमा फोहोर व्यवस्थापन अब पाठ्यक्रममै, सीप र रोजगारीसँग जोडिने नयाँ पहल
धनगढी: धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई संस्थागत गर्दै यससम्बन्धी ज्ञान अब औपचारिक रूपमा पाठ्यपुस्तकमार्फत प्रदान गर्ने भएको छ। काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोगमा तयार गरिएको यो पुस्तक व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) को स्वीकृतिमा अध्ययन–अध्यापनका लागि प्रयोग गरिनेछ।
फोहोर व्यवस्थापन, वर्गीकरण, पुनःप्रयोग र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर तयार गरिएको पाठ्यक्रमअनुसार तालिम सञ्चालन सुरु भइसकेको छ। आइतबार धनगढी उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले तालिमको औपचारिक उद्घाटन गरे।
धनगढी उपमहानगरपालिकाले नेपालमै पहिलोपटक फोहोर व्यवस्थापनलाई औपचारिक पाठ्यक्रममा समेट्ने प्रयास थालेको दाबी गरेको छ। हालसम्म यस विषयमा व्यवस्थित रूपमा किताबमार्फत अध्ययन–अध्यापन न्यून रहेको सन्दर्भमा यो पहललाई नवीन मानिएको छ।
उपप्रमुख कन्दकला कुमारी रानाले यस कार्यक्रमले फोहोर व्यवस्थापनप्रति जनचासो बढाउनुका साथै सहरी सरसफाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्। टीकापुर पोलिटेक्निक इन्स्टिच्युटका प्रमुख इन्जिनियर पारश खड्काका अनुसार पाँच स्पष्ट उद्देश्यसहित तयार गरिएको पुस्तकले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न मद्दत गर्नेछ।
हाल उपमहानगरपालिकाले सहरी क्षेत्रमा फोहोरको सूक्ष्म वर्गीकरण, बिक्री तथा व्यवस्थापन गर्दै आएको छ भने क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ। तालिम कार्यक्रममार्फत फोहोर व्यवस्थापन, सीप विकास, उपकरण प्रयोग, विद्युतीय फोहोर संकलन तथा पुनःप्रयोग र रोजगारी सिर्जनाजस्ता विषयमा ज्ञान दिइनेछ।
कार्यक्रममा चिरिबाबु महर्जनले धनगढीको अभ्यास अन्य शहरका लागि उदाहरणीय रहेको उल्लेख गर्दै फोहोर पुनःप्रयोगमा जोड दिनुपर्ने बताए। उनले बञ्चरे डाँडामा पठाइने फोहोरको मात्रा घटाउनुपर्ने आवश्यकता पनि औंल्याए।