सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशममै गाडी उद्योग खोले सरकारले कर छुट दिने

२०७६ भदौ १०, ०१:०३ खबर संवाददाता

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशको आर्थिक विकासको लागि सवारी साधन आवश्यक भए पनि मात्रा भने धेरै बढाउन नहुने बताउनु भएको छ। नाडा अटो शोको उदघाटन समारोहमा उनले अरु क्षेत्र कमजोर हुने गरी गाडी आयात मात्रै गर्न नहुने बताए। 

गएको १० वर्षमा अटो व्यापार बढेको भन्दै उनले तीव्र आर्थिक वृद्धिको अवस्थामा धेरै गाडी आयात फाइदाजनक नहुने बताए। अब सबै गाडी आयात गरेर बेच्ने भन्दा पनि देशमै गाडी ‘एसेम्बल’ गर्न अर्थमन्त्री खतिवडाले व्यवसायीलाई आग्रह गरे। जुनसुकै देशमा पनि पहिला ‘एसेम्बलिङ’ हुने र पछि बल्ल गाडी कम्पनी नै खुल्ने गरेको भन्दै उनले सरकारले यस्ता उद्योगलाई कर छुट दिने बताए।

उनले तत्कालै पेट्रोल डिजेलबाट चल्ने गाडी विस्थापन गर्न नसकिने भए पनि विद्युतीय गाडीको उपयोग बढाउन आग्रह गरे। सरकारले विद्युतीय गाडी आयातमा कर छुट दिएको तर केही ब्यापारीले ब्याट्रीबाट स्टार्ट हुने तर पेट्रोलले चल्ने गाडी ल्याएर करछुट माग्दै बदमासी गरेको मन्त्री खतिवडाले आरोप लगाए।

सडकको कारण गाडी चलाउन र बिक्री वितरणमा असर पुगेको स्वीकार गर्दै मन्त्री खतिवडाले काठमाण्डौमा मेलम्ची खानेपानीका सबै पाइप परीक्षण नगरेसम्म सडक चिल्ला हुन नसक्ने बताए। उनले विभिन्न निकायबीचको समन्वय नहुँदा पनि काठमाण्डौका सडक राम्रो नभएको बताए।

मन्त्री खतिवडाले यसपटकको बजेटमा शिक्षापछि सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार क्षेत्रमा छुट्ट्याएकोले अब सुधार हुने दाबी गरे। काठमाण्डौको भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने नाडा अटो शोमा २३ वटा चारपांग्रे कम्पनीका स्टल, १९ वटा ब्रान्डका दुईपांग्रे गाडीका स्टल छन्। शोमा गाडी, पाटपूर्जा, ब्याट्री गरी ९५ कम्पनीका १६० स्टल छन्। शोको ७५ हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजक नाडाले गरेको छ।
 

कमेन्ट लोड गर्नुस