पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु
इस्लामावाद: पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्धान स्थलमा भएको आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै एक जना विदेशी कामदारलाई अपहरण गरिएको सुरक्षा स्रोतले बिहीबार बताएको छ ।
चागी जिल्लाको नेसनल रिसोर्सेज लिमिटेड कम्पनीद्वारा सञ्चालित अन्वेषण तथा अनुसन्धान स्थलमा बुधबार स्थानीय समयअनुसार बेलुका ७ बजे आक्रमण भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले जनाएको छ । तामा र सुनको अन्वेषण तथा अनुसन्धान स्थलमा आक्रमण भएको स्रोतहरूले पुष्टि गरेएका छन् ।
आतङ्ककारीले आक्रमणको क्रममा साना हतियारको गोली र अन्डर ब्यारेल ग्रेनेड लन्चर प्रयोग गरेको तथा तोडफोड गरी इन्धनमा क्षति पुग्नुका साथै तीन वटा शिविरमा आगो लगाएको स्रोतले जनाएको छ । जवाफी गोलीबारीमा एक जना आतङ्कवादी मारिएको तथा बाँकी आक्रमणकारी घटना स्थलबाट भागेको जनाइएको छ ।
सुरक्षा बलले खोजी तथा अनुसन्धान अभियान सुरु गरी सकेको जनाएको छ । मृतक मध्ये तीन जना निजी सुरक्षा गार्ड र छ जना मजदुर रहेको स्रोतले जनाएको छ भने अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन ।