कञ्चनपुरमा भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं: भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। विशेष अदालत काठमाडौंले मिति २०८१/०२/२४ गते गरेको फैसलाअनुसार कञ्चनपुर भीमदत्त नगरपालिका–१३ बैजनपुर बस्ने गोपाल रसाइलीलाई ४ वर्ष कैद सजाय र ७६ लाख ८२ हजार ४ सय ६६ रुपैयाँ जरिवाना तोकेको थियो।
फैसला पश्चात फरार रहेका रसाइलीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले उनको घरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।