सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण उद्योग संकटमा: कैलालीका व्यवसायीको ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग

२०८२ चैत्र २८, १०:१८ नारायण अवस्थी


धनगढीः धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निर्माण व्यवसायी संघ कैलालीले इन्धन तथा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै सरकारले ‘आपतकाल’ घोषणा गर्नुपर्ने माग गरेको छ।

संघका अनुसार मध्यपूर्वमा जारी युद्धको असरस्वरूप डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनको मूल्य लगातार बढिरहेको छ, जसले निर्माण क्षेत्रलाई गम्भीर संकटमा पारेको छ। संघका अध्यक्ष टेकबहादुर मल्लले इन्धनसँगै बिटुमिन, सिमेन्ट, डण्डी जस्ता अत्यावश्यक निर्माण सामग्रीमा समेत मूल्यवृद्धि र अभाव देखिन थालेको बताए।

त्यसैगरी, क्रसर उद्योगमा देखिएको समस्याले निर्माण क्षेत्र थप प्रभावित भएको संघले जनाएको छ। नेपाल निर्माण व्यवसायी महासंघले पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि समस्या समाधानका लागि ठोस कदम नचालिएको गुनासो गरिएको छ।

महासंघका केन्द्रीय उपाध्यक्ष (सुदूरपश्चिम) प्रकाश सेठीले राष्ट्र बैंकको मूल्य सूचकांकका आधारमा हुने मूल्य समायोजन प्रणाली व्यवहारिक नभएको उल्लेख गर्दै बजारमा मूल्य बढ्दा पनि सूचकांकमा घटेको देखिने अवस्थाले व्यवसायीहरू मारमा परेको बताए।

संघले निर्माण कार्य तीव्र हुने समयमा भएको मूल्यवृद्धि र सामग्री अभावले व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको उल्लेख गर्दै तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। साथै, वास्तविक मूल्यवृद्धिअनुसार मूल्य समायोजन गर्न ‘मूल्य समायोजन मार्गदर्शिका–२’ तुरुन्त जारी गर्न र सबै ठेक्कामा लागू गर्न पनि आग्रह गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस