सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका दुर्गम बस्ती सडक सञ्जालमा जोडिँदै, जनजीवनमा सहजता

विकासको परखाईमा रहेको हिमाली गाउँपालिका, दुर्गम बस्ती बोर्ता। तस्बिरः शेरबहादुर सार्की
विकासको परखाईमा रहेको हिमाली गाउँपालिका, दुर्गम बस्ती बोर्ता। तस्बिरः शेरबहादुर सार्की
२०८२ चैत्र २६, ०२:३२

बाजुराः बाजुराका दुर्गम गाउँ बस्तीहरू पछिल्लो समय सडक सञ्जालसँग जोडिन थालेका छन्। स्थानीय सरकारले ग्रामीण सडक निर्माणलाई पहिलो प्राथमिकतामा राख्दै आउजाउ र दैनिक उपभोग्य सामान ढुवानी सहज बनाउने प्रयासपछि दुर्गम बस्ती सडक सञ्जालमा जोडिन पुगेका हुन्।

हिमाली गाउँपालिका स्थानीय रामबहादुर कार्कीले भने, ‘पहिला गाउँमा सडक नहुँदा दुई–चार दिन पैदल यात्रा गरेर कोल्टी मार्तडीबाट दाल, चामल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामान ल्याउनु पर्ने हुन्थ्यो। अहिले सडक पुगेपछि ती सामान गाडीमार्फतै घरमै पुग्छन्। घरबाट कतै जानुपरे पनि गाडीमा चढेर सजिलै जान सकिन्छ।’ 

सडक नहुँदा तरकारी खेती गर्न कठिनाइ हुने गरेको थियो। अहिले गाउँ नजिक सडक पुगेसँगै फलफुल र तरकारी खेती गर्ने वातावरण बनेको छ। कार्कीले भने, ‘मैले उत्पादन गरेको तरकारी गाडीमा राखेर धुलाचौर बजारसम्म बिक्री गर्दा आम्दानीमा सुधार आएको छ।’ 

हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले भने, ‘हाम्रो गाउँपालिका भौगोलिक रूपमा अत्यन्त विकट छ। धेरै पहाड र चट्टानले घेरिएका बस्तीमा सडक पुर्याउन कठिनाइ छ। अहिले केही बस्तीमा घरको आगनमै गाडी गुड्न थालेको छ। बाँकी बस्तीमा पनि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै सडक निर्माणको काम तीव्रता दिइरहेका छौं।’ 

अहिले धीम, बोढील्क, पाँडी, बोर्ता र फैतीलगायतका गाउँ बस्ती सडकसँग जोडिसकेका छन्। बिच्छ्या, वौडी लगायतका बाँकी बस्तीमा सडक पुर्याउने तयारी भइरहेको अध्यक्ष मल्लले जानकारी दिए। 
गोरखापत्र
 

कमेन्ट लोड गर्नुस