सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियामा नेपाली नयाँ वर्ष र विसु पर्वको अवसरमा देउडा कार्यक्रम आयोजना हुँदै

२०८२ चैत्र २२, ११:१४ खबर संवाददाता

धनगढीः दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच सुदूरपश्चिमेली मौलिक संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुदूरपश्चिम समाज, दक्षिण कोरियाले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपाली नयाँ वर्ष २०८३ साल तथा सुदूरपश्चिमको महत्वपूर्ण पर्व विसुको पावन अवसरमा आगामी अप्रिल १२ (आइतबार) बिहान ११:०० बजे कोरियाको सुवन सहरस्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा भव्य शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको झल्को दिने विविध प्रस्तुति समेटिनेछन्। विशेषगरी सुदूरपश्चिमको पहिचान बोकेको देउडा नृत्य तथा गीत, स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति तथा परम्परागत नेपाली परिकारहरूको व्यवस्था गरिनेछ।

कार्यक्रममा चर्चित लोक तथा देउडा गायक गौरी भट्ट र कमल बिरही थापाको विशेष प्रस्तुति रहने जनाइएको छ। उनीहरूको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहने विश्वास आयोजकले लिएको छ।

प्रवासमा रहेर पनि आफ्ना मौलिक संस्कार, परम्परा र सांस्कृतिक पहिचान जगेर्ना गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भई कार्यक्रम सफल बनाउन आयोजकले अनुरोध गरेको छ।

कार्यक्रममा विभिन्न संघसंस्था, समाजसेवी, पत्रकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। यसले प्रवासी भूमिमा नेपालीपनको झल्को दिनुका साथै सुदूरपश्चिमेली समुदायबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।

कार्यक्रमसम्बन्धी जानकारी सुदूरपश्चिम समाज दक्षिण कोरियाका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका सचिव वासुदेव भट्टले दिएका हुन्।
 

कमेन्ट लोड गर्नुस