कैलालीमा थ्रेसर दुर्घटना: दोपट्टा बेरिँदा महिला गम्भीर घाइते
धनगढीः कैलालीको बर्दगोरिया गाउँपालिका–४ नौनियामा गहुँ थ्रेसर गर्ने क्रममा एक महिला गम्भीर घाइते भएकी छन्।
शनिबार राति करिब ९ बजे स्थानीय खुशीराम डगौराकी श्रीमती अन्दाजी ५५ वर्षीया रेखा डगौरा आफ्नै खेतमा गहुँ थ्रेसर गरिरहेकी थिइन्। सोही क्रममा उनको घाँटीमा रहेको दोपट्टा थ्रेसरमा बेरिन पुग्दा मेसिनको ब्लेडले अनुहारमा गम्भीर चोट पुर्याएको प्रहरीले जनाएको छ।
घाइते डगौरालाई तत्काल उनका श्रीमानले उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्याएका छन्, जहाँ उनको उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको छ।
राति करिब ११ बजे नवजीवन अस्पतालमा कार्यरत प्रहरी सहायक हवल्दार विक्रम चन्दले टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय सडकपुरलाई घटनाबारे जानकारी गराएका थिए। घटनास्थल उक्त प्रहरी कार्यालयबाट करिब ४ किलोमिटर पश्चिम–उत्तर दिशामा पर्ने बताइएको छ।