राष्ट्रियसभा बैठक : सरकारको कामका आधारमा मूल्याङ्कन गरिने
काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन्।
बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले नयाँ सरकार गठन भएकोमा बधाई दिँदै जनताको हितमा काम गरेमा पूर्ण सहयोग रहने बताएका छन्। उनले सरकारको मूल्याङ्कन कामका आधारमा गरिने स्पष्ट पारेका छन्।
नेपाल कम्युनिष्ट पार्टीका सांसद मदनकुमारी शाह गरिमाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलिदानीबाट प्राप्त भएको उल्लेख गर्दै सरकारको १०० दिने कार्यसूची अपूर्ण रहेको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद प्रेमप्रसाद दंगालले सरकारलाई बधाई दिँदै जनताको जीवनस्तर सुधार, राष्ट्रियता र एकता सुदृढीकरणमा ध्यान दिनुपर्ने बताएका छन्। उनले कार्की आयोगको प्रतिवेदनका आधारमा भएका पक्राउप्रति आपत्ति जनाएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका पूजा चौधरीले सुशासनका लागि सरकारका प्रयासमा समर्थन जनाउँदै भ्रष्टाचार नियन्त्रणका पहल स्वागतयोग्य रहेको बताएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुरले गणतन्त्र सङ्घर्षबाट प्राप्त भएको स्मरण गराउँदै बेरोजगारीजस्ता समस्या अझै कायम रहेको बताएका छन्। राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले कार्की आयोगको छानबिन एकपक्षीय रहेको भन्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन तथा कार्यभारसम्बन्धी पत्रको विवरण वाचन गरेर सुनाएका छन्। साथै, राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन चैत २३ गते र विषयगत समितिका सभापतिको निर्वाचन चैत २४ गते गर्ने कार्यतालिका तय गरिएको जानकारी दिएका छन्।
राष्ट्रियसभाको अर्को बैठक यही चैत २२ गते आइतबार १२:१५ बजे बस्नेछ।