सरकार जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड, विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्न आग्रह
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार जनताको हितमा काम गर्दै देशलाई समृद्धितर्फ अघि बढाउनुपर्ने बताएका छन्।
उनले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका घटनाको सत्यतथ्य छानबिन गर्नुपर्नेमा जोड दिएका छन्। प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित शासन आवश्यक रहेको उल्लेख गर्दै जनताको आशा र भरोसाको दियो बलियो बनाइराख्नुपर्ने बताएका छन्।
शाहीले नेपालमा पटक–पटक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको बताएका छन्। देशका सबै भ्रष्टाचारका फाइल खोलिनुपर्ने र अहिले दल परिवर्तनसँगै पुस्ता परिवर्तन पनि भएकाले त्यसअनुसार काम हुनुपर्ने उनको धारणा छ।
उनले निर्मला पन्त र इनिशा विकका घटनाका पीडितले समयमै न्याय पाउनुपर्नेमा जोड दिएका छन्। साथै, युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्यलाई नागरिकता उपलब्ध गराउनुपर्ने माग राख्दै उनले सुशासन र विधिको शासन कायम गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्। अन्य क्षेत्रमा पूर्वाधार विकास भइरहे पनि कर्णाली प्रदेशमा अपेक्षित विकास नपुगेको भन्दै उनले सरकारलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका छन्।
यसैबीच, स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिएका छन्। उनले देशभर सञ्चालनमा रहेका १८ वटा विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्दै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने बताएका छन्।
उनले विज्ञान तथा प्रविधिको विकासलाई प्राथमिकता दिँदै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। विज्ञान र प्रविधिको विकासविना आर्थिक प्रगति सम्भव नहुने उनको भनाइ छ।
सांसद पुनले विद्यालय शिक्षामा देखिएका विकृतिहरू सुधार गर्न शिक्षा नियमावली परिवर्तन आवश्यक रहेको बताएका छन्। विद्यालय व्यवस्थापन समितिमा बढ्दो राजनीतिक प्रभावप्रति चिन्ता व्यक्त गर्दै उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।