गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्तरोन्नतिका लागि २ अर्बभन्दा बढी लगानी सुनिश्चित
धनगढी: कैलालीको गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्तरोन्नति तथा आगामी योजनाबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र कैलाली–२ बाट निर्वाचित रास्वपा सांसद केपी खनालबीच सिंहदरबारमा छलफल भएको छ। छलफलमा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार लगायतका पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।
छलफलका क्रममा विश्वविद्यालय अन्तर्गतको अस्पतालको क्षमता विस्तारलाई प्राथमिकतामा राखिएको छ। हाल एक सय शय्यामा सञ्चालनमा रहेको अस्पताललाई तीन सय शय्यामा विस्तार गरी सेवा थप प्रभावकारी बनाउने योजना अघि सारिएको सांसद खनालले जानकारी दिए।
त्यसैगरी, नयाँ शैक्षिक कार्यक्रम सञ्चालनका विषयमा पनि विस्तृत छलफल भएको छ। आवश्यक करिब २ अर्ब ५८ करोड रुपैयाँको स्रोत सुनिश्चित गर्दै आगामी शैक्षिक सत्रदेखि एमबिबिएसमा ५० सिट, नर्सिङमा ३० सिट, बीएस्सी एमएलटीमा २० सिट र नेत्र विज्ञानमा २० सिट सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ।
विश्वविद्यालयका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट कार्यान्वयनबारे पनि छलफल भएको छ। सिनेट बैठक बस्न नसक्दा रोकिएको ४३ करोड रुपैयाँ बजेटलाई यथाशीघ्र परिचालन गर्न बैठक आयोजना गर्ने विषयमा सहमति जुटाइएको बताइएको छ।