पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको गिरफ्तारीप्रति काँग्रेस कैलालीको आपत्ति
धनगढी: नेपाली काँग्रेस कैलालीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ। जिल्ला कार्यसमिति कैलालीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, जेन्जी आन्दोलनपछि गठन भएको नेपाल सरकार मन्त्रिपरिषद्ले गौरिहादुर कार्कीको संयोजकत्वमा गठन गरेको छानबिन आयोगले फागुन २४ गते आफ्नो प्रतिवेदन बुझाइसकेको अवस्थामा उक्त प्रतिवेदन सार्वजनिक नगरी पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु संविधान र प्रचलित कानुन विपरीत भएको आरोप लगाइएको छ।
काँग्रेस कैलालीले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै सरकारले प्रतिवेदन सार्वजनिक नगरी गिरफ्तारी गर्नुले देशमा द्वन्द्व बढाउने परिस्थिति सिर्जना गरेको उल्लेख गरेको छ।
विज्ञप्तिमा सरकारका यस्ता गतिविधिले राजनीतिक प्रतिशोधको झल्को दिने बताउँदै तत्काल पक्राउ परेकाहरूलाई रिहा गर्न माग गरिएको छ। साथै, छानबिन आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरेर मात्र त्यसका आधारमा अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
काँग्रेसले यस्ता कार्यले कानुनी राज्य र विधिको शासनमाथि प्रहार भएको भन्दै घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने माग गरेको छ। साथै, राजनीतिक पूर्वाग्रहबाट प्रेरित निर्णय त्यागेर संवाद र सहकार्यको बाटो रोज्न सरकारलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनको रक्षा गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर सजग रहनसमेत अपिल गरिएको छ।