सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भयाे: महेश बस्नेत

२०८२ चैत्र १४, ०४:५२ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो पार्टीले देशभर आन्दोलन अझै सशक्त बनाएर अघि बढाउने चेतावनी दिएका छन् ।

प्रहरीबाट आफूहरूमाथि दमन भएको बताउँदै बस्नेतले यही अवस्था रहिरहे भोलि देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।

‘यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ,’ बस्नेतले भनेका छन्, ‘साथै, आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहनेछ ।’

आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमालेले आजैबाट प्रदर्शन थालेको छ  एमालेले अध्यक्ष ओलीको पक्राउलाई ‘पूर्वाग्रह र प्रतिशोध’ भनेको छ ।

‘पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ । अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर, बालेन सरकार र कथित गृहमन्त्री सुधन गुरुङ,’ बस्नेले भनेका छन्, ‘तिमीहरूको गलत निर्णयले दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको छ ।’

उनले थप प्रश्न गरेका छन्, ‘के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो ? देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन—कुन मोडेलतर्फ लैजाँदैछ ?’  हिजो दमन भयो भन्नेहरू नै अहिले दमनमा उत्रिएको भन्दै उनले घाइतेको उपचार, पक्राउ परेकाहरूको अविलम्ब रिहाइको माग गरेका छन् ।

‘हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने बालेन्द्र शाह र सुधन गुरुङद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन गर्‍यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन् ?’, उनले भनेका छन् ।

कमेन्ट लोड गर्नुस