डा स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएपछि तनहुँमा खुसी
दमौली (तनहुँ): तनहुँ क्षेत्र नं. १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएका छन्। रास्वपा सभापति रवि लामिछाने ले निर्वाचनअघि नै वाग्लेलाई अर्थमन्त्री बनाइने संकेत दिएका थिए।
आफ्नो क्षेत्रबाट निर्वाचित सांसद देशको महत्वपूर्ण जिम्मेवारीमा पुगेपछि तनहुँ क्षेत्र नं. १ का स्थानीयवासी खुसी भएका छन्। डा वाग्ले यस क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएका हुन्। उनी २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा ३४ हजार ९११ मत ल्याएर पहिलो पटक विजयी भएका थिए भने हालै फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ हजार ४० मतसहित पुनः निर्वाचित भएका छन्।
अर्थशास्त्री, नीतिगत विज्ञ तथा योजनाविद् रूपमा चिनिएका वाग्ले अर्थमन्त्री बनेपछि स्थानीयमा थप उत्साह देखिएको छ। म्याग्देका मनोज अधिकारीले वाग्ले सक्षम र योग्य व्यक्ति भएकाले देशको अर्थतन्त्र सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेका छन्। उनले जिल्लाले यस्तो जिम्मेवारीमा प्रतिनिधित्व पाउनु गर्वको विषय भएको बताएका छन्।
बन्दीपुरका सिद्धान्त गर्जा मगरले सामाजिक न्याय, सुशासन, आर्थिक सुधार तथा गुणस्तरीय पूर्वाधार विकासलाई अब व्यवहारमा उतार्न वाग्ले सफल हुने अपेक्षा व्यक्त गरेका छन्।
गोरखामा जन्मिएका वाग्लेले आफ्नो राजनीतिक यात्रा तनहुँबाट सुरु गरेका हुन्। सामान्य परिवेशबाट अघि बढ्दै अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयमा अध्ययन गरी देश–विदेशमा आफ्नो छुट्टै पहिचान बनाएका उनी विभिन्न अन्तर्राष्ट्रिय संस्थामा कामसमेत गरिसकेका छन्। नेपाल फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।