सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेन शाहको पहिलो मन्त्रिपरिषद्‌का लागि जनमुखी निर्णयको तयारी तीव्र

२०८२ चैत्र १३, ०२:२३ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री बालेन शाहले पहिलो मन्त्रिपरिषद् बैठकबाट गर्ने निर्णयहरूको तयारी थालेका छन्। उनको सचिवालयसँग सम्बद्ध स्रोतका अनुसार, विभिन्न मन्त्रालयबाट तत्काल कार्यान्वयन गर्न सकिने योजनाहरूको विवरण संकलन भइरहेको छ।

मुख्यसचिव सुमन अर्यालको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालयलाई छिटोछरितो रूपमा गर्न सकिने जनमुखी कामहरूको संक्षिप्त विवरण पठाउन आग्रह गरेको थियो। सोही अनुसार मन्त्रालयहरूले एक–दुई पृष्ठमा तत्काल गर्न सकिने काम, त्यसको प्रभाव र सम्भावनाबारे विवरण पठाएका छन्।

संकलित प्रस्तावहरू प्रधानमन्त्री बालेन शाहको सचिवालयमा पुगेका छन्, जहाँ उनका विज्ञ टोली र कर्मचारीहरूले उपयुक्त योजनाहरू छनोट गर्नेछन्। ती छनोट गरिएका प्रस्तावहरूलाई मन्त्रिपरिषद् बैठकमा पेश गरी निर्णय लिने तयारी छ।

स्रोतका अनुसार, मन्त्रालयहरू गाभेर संरचना प्रभावकारी बनाउने, पासपोर्ट, नागरिकता र राष्ट्रिय परिचयपत्रजस्ता सेवाहरूलाई सरल र छरितो बनाउने विषयमा विशेष ध्यान दिइएको छ। साथै शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सुधारका प्रस्तावहरू पनि समावेश गरिएका छन्।

यससँगै प्रधानमन्त्री कार्यालयले तयार पारेको सुशासन मार्गचित्र पनि सचिवालयमा पुगेको छ। विगतका भ्रष्टाचार तथा गैरकानुनी सम्पत्ति छानबिनसम्बन्धी योजनामाथि समेत छलफल भइरहेको स्रोतले जनाएको छ।

यद्यपि, कुन प्रस्तावहरू तत्काल निर्णयमा जाने र कुन विषय थप छलफलपछि अगाडि बढ्ने भन्ने विषयमा अन्तिम टुंगो लागेको छैन। पहिलो मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू नव नियुक्त प्रधानमन्त्रीकै प्राथमिकताअनुसार तय हुने अनुमान गरिएको छ।

कमेन्ट लोड गर्नुस