सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदमा ‘सिट प्लान’: अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

२०८२ चैत्र १२, ०४:४३ रासस

काठमाडौँ: प्रतिनिधिसभाको नयाँ संरचनासँगै संसद् बैठकको ‘सिट प्लान’ पनि परिवर्तन भएको छ। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी अब एउटै विपक्षी बेञ्चमा बस्ने भएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीन दललाई यसपटक प्रतिपक्षी भूमिकामा पुर्‍याएको हो। यसअघि देशका प्रमुख राजनीतिक शक्तिका रूपमा चिनिँदै आएका यी दलहरू पालैपालो सत्तापक्ष र प्रतिपक्षमा रहने गरेका थिए।

विसं २०६३ मा लोकतन्त्र स्थापना र तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि बनेको अन्तरिम संसद्मा भने यी तीनै दल एउटै बेञ्चमा बसेका थिए। त्यसपछि २०६४ सालको संविधानसभा निर्वाचनबाट बनेका संसद्हरूमा भने सामान्यतया दुई दल सत्तामा र एक दल प्रतिपक्षमा रहने अभ्यास थियो।

तर, यसपटक भने तीनै दल एउटै विपक्षी बेञ्चमा बस्न लागेको अवस्था पहिलो पटक देखिएको छ। यस संरचनामा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहनेछ भने एमाले र नेकपा अन्य प्रतिपक्षका रूपमा रहनेछन्।

प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएसँगै नयाँ सिट व्यवस्थापन पनि लागू गरिएको हो। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका थिए। शपथका क्रममा यी तीन दलका सांसदहरू एउटै विपक्षी बेञ्चमा उभिएका थिए।

सङ्घीय संसद् सचिवालयले दलहरूको सिट सङ्ख्याका आधारमा संसद् बैठकमा बस्ने व्यवस्था मिलाएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस