सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली काँग्रेसको १५औँ महाधिवेशन भदौमा गर्ने प्रस्ताव

२०८२ चैत्र १२, ०१:३३ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव अघि सारिएको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले उक्त मिति प्रस्ताव गरेका हुन्।

प्रस्तावित कार्यतालिका अनुसार चैत २१ गतेदेखि महिनाको अन्त्यसम्म क्रियाशील सदस्यता फारम देशभरका सबै तहमा पुर्‍याइनेछ। सदस्यता वितरण तथा अद्यावधिक प्रक्रियालाई प्रभावकारी बनाउन १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाउने योजना पनि अघि सारिएको छ।

वैशाख १ गतेदेखि महिनाभर सबै वडामा सदस्यता वितरण र नवीकरण कार्य सञ्चालन गरिने प्रस्ताव गरिएको छ। साथै, सदस्यता प्रणालीलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने योजना समेत कांग्रेसले अघि सारेको छ। सदस्यहरूले आफ्नै वडाबाट सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिनेछ भने वडा र क्षेत्रीय कार्यसमितिलाई आईडी र पासवर्ड उपलब्ध गराइनेछ।

वैशाख महिनाभर सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिनेछ। जेठ १ देखि १५ गतेसम्म वडाबाट प्रतिनिधिसभा क्षेत्र र जिल्लामा सदस्यता विवरण बुझाउनुपर्नेछ भने २५ जेठभित्र क्षेत्र र जिल्लाले विवरण केन्द्रमा पठाइसक्नुपर्नेछ।

यसैगरी, जेठ महिनाभित्र जिल्लास्तरमा प्राप्त उजुरीमाथि प्रारम्भिक छानबिन गरी केन्द्रमा पठाइनेछ। केन्द्रले प्राप्त विवरणमाथि थप छानबिन गरेर १५ असारभित्र अन्तिम निर्णय गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ।

कमेन्ट लोड गर्नुस