बैतडीमा वनडढेलो न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना
बैतडीः वनडढेलोका घटनाबाट बढ्दो क्षति न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
डिभिजन वन कार्यालय बैतडीले ‘वन डढेलो व्यवस्थापन सप्ताह’ को अवसर पारेर समुदायमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गरेको हो। नेपाल भौगोलिक विविधताले सम्पन्न मुलुक भएकाले यहाँका वन क्षेत्रमा बहुमूल्य जडीबुटी पाइन्छन्। तर पछिल्लो समय मानवीय गतिविधिका कारण वनडढेलोबाट यस्ता प्राकृतिक सम्पत्तिमा ठुलो क्षति भइरहेको छ।
वन विभागको तथ्याङ्कअनुसार नेपालका करिब ४४.७४ प्रतिशत भू–भाग वनले ढाकेको छ भने हरेक वर्ष झन्डै दुई हजारभन्दा बढी आगलागीका घटना हुने गरेका छन्। डढेलोका कारण वन क्षेत्रले वर्षेनी ठुलो क्षति बेहोर्दै आएको छ। वनमा हुने आगलागी नियन्त्रणका लागि हरेक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाउने गरिन्छ।
सोही सप्ताहको अवसरमा बैतडीमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी नरेशचन्द्र कर्णले बताए। उनका अनुसार समुदायस्तरमा जनचेतना फैलाएर आगलागीका घटना घटाउन सकिन्छ। विद्यालयको पाठ्यक्रममा समेत वनडढेलोसम्बन्धी विषय समावेश गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए।
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा विशेषगरी सल्लो वनमा आगलागीका घटना बढी हुने गरेका छन्। पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्र बिष्टका अनुसार खर–फाग्लो जलाउने तथा घाँस छिटो पलाउने गलत मान्यताका कारण वनडढेलोका घटना हुने गरेका छन्। डिभिजन वन कार्यालयले सप्ताहको अवसरमा समुदायलाई आगलागी व्यवस्थापनसम्बन्धी अभ्याससमेत गराउँदै आएको जनाएको छ। नेपालमा सुक्खायाम सुरु भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलोको जोखिम उच्च रहने गर्दछ। डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको विज्ञहरूले बताएका छन्।