सुशासनका लागि नयाँ सरकारसँग सहकार्य गर्न कांग्रेस तयार: गगन थापा
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न र शासकीय सुधारलाई अघि बढाउन बन्ने नयाँ सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताएका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले २०४५ सालयता सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने कांग्रेसको मुख्य माग हुने स्पष्ट पारे।
थापाले भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन संयन्त्र गठन गर्न आगामी सरकारसँग प्रस्ताव गर्ने पनि बताए। उनले सुशासनप्रति नागरिकको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै भ्रष्टाचारसम्बन्धी फाइलहरू राजनीतिक स्वार्थका लागि मात्र खोलिन नहुनेमा जोड दिए।
पछिल्ला ३५ वर्षमा शासकीय शक्तिको दुरुपयोग भएका विभिन्न घटनाहरू सार्वजनिक भइरहेको भन्दै उनले सबै प्रकारका काण्ड र भ्रष्टाचारका विषयमा कानूनी प्रक्रिया अनुसार निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए।
साथै, उनले आगामी पाँच वर्ष कांग्रेसले प्रतिपक्षको भूमिकामा रहेर जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।