डिलासैनी गाउँपालिकामा ई–हाजिरी प्रणाली लागू, पारदर्शिता र अनुशासनमा सुधारको अपेक्षा
बैतडी: बैतडीको डिलासैनी गाउँपालिकाले परम्परागत ढड्डा हाजिरी रजिस्टरलाई प्रतिस्थापन गर्दै ई–हाजिरी प्रणाली लागू गरेको छ। सुशासन, पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगलाई मजबुत बनाउने उद्देश्यले डिजिटल हाजिरी प्रणाली कार्यान्वयनमा ल्याइएको हो।
अब गाउँपालिकाका सबै कर्मचारीहरूले अनिवार्य रूपमा ई–हाजिरी प्रणालीमार्फत उपस्थित जनाउनुपर्नेछ। यस प्रणालीले कर्मचारीको उपस्थितिदेखि बिदा हुने समयसम्मको विवरण स्वचालित रूपमा अभिलेख गर्नेछ, जसले कार्यसम्पादनमा जिम्मेवारी, अनुशासन र पारदर्शिता वृद्धि गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदका अनुसार ई–हाजिरी प्रणालीले कर्मचारी व्यवस्थापनलाई प्रविधिमैत्री, प्रभावकारी र पारदर्शी बनाउनेछ। हाल गाउँपालिका कार्यालयबाट सुरु गरिएको यो प्रणालीलाई यही महिनाभित्र वडा कार्यालयहरूमा समेत विस्तार गरिने तयारी गरिएको छ।