भदौ २३–२४ घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्रका विद्यार्थीको प्रदर्शन
काठमाडौं: भदौ २३ र २४ मा भएका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
मंगलबार त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा घण्टाघर क्षेत्रमा प्रदर्शन गरिएको हो। विद्यार्थीहरूले प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन्।
हस्ताक्षर संकलनसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले जेनजी आन्दोलनका सहिद तथा घाइतेलाई न्याय दिन प्रतिवेदन सार्वजनिक गर्नु आवश्यक रहेको बताएका छन्। उनीहरूले “रगतको मूल्य कसैले बुझेन, प्रतिवेदन भने अझै देखिएन”, “प्रतिवेदन लुकाउन पाइँदैन” र “कार्की आयोगको प्रतिवेदन हाम्रो सूचनाको हक” जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका थिए।
त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति गोविन्द कोइरालाले सरकारले छिटो प्रतिवेदन सार्वजनिक नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। सरकारले प्रतिवेदन अध्ययन गर्ने निर्णय गरे पनि हालसम्म सार्वजनिक नगरेको भन्दै युवाहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले यसअघिका प्रतिवेदनहरूजस्तै यो पनि दराजमै थन्किने हो कि भन्ने आशंका व्यक्त गरेका छन्।