सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशमा रहेका नेपालीलाई सिआइएले घण्टीमा भोट हाल्न लगायो: चित्रबहादुर केसी

२०८२ चैत्र ९, ०५:४८ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपाली नागरिकमाथि अमेरिकी गुप्तचर संस्था सीआईएको प्रभाव रहेको दाबी गरेका छन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विदेशमा रोजगारी र अध्ययनका लागि गएका नेपालीहरू सीआईएको नियन्त्रणमा रहेको आरोप लगाए। उनका अनुसार ती नेपालीहरूले आफ्ना परिवारलाई विशेष चुनाव चिन्हमा मतदान गर्न दबाब दिने गरेको समेत बताएका छन्।

अध्यक्ष केसीले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सिंहदरबार, सर्वोच्च अदालत र संसद् जलाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे। उनले जनताले सधैं सही निर्णय नगर्न सक्ने टिप्पणी पनि गरेका छन्।

उनले देशको वर्तमान अवस्थाका लागि आफूलाई कम्युनिस्ट भन्ने शक्तिहरू जिम्मेवार रहेको आरोप लगाए। साथै, उनले सबै राजनीतिक दलका नेतासँग छलफल गरेर देशको अवस्थाबारे गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताएका छन्।

अमेरिकाले चीनविरुद्ध रणनीतिक रूपमा नेपालमा प्रभाव विस्तार गर्न खोजेको उनको दाबी छ। साथै, दलाई लामालाई पुनर्स्थापना गर्ने उद्देश्यले समेत यस्तो गतिविधि भइरहेको उनले उल्लेख गरे।

प्रत्यक्ष कार्यकारी प्रणालीको बहसप्रति टिप्पणी गर्दै केसीले अमेरिकामा समेत जनताले सधैं सही नेतृत्व चयन नगर्ने उदाहरण प्रस्तुत गरेका छन्।

कमेन्ट लोड गर्नुस