सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी माया बिकको बलात्कारपछि हत्या मुद्दाको पेशी ९ पटक सर्‍यो

२०७६ भदौ ५, ०६:३६ खबर संवाददाता

धनगढी–एक वर्षअघि सामूहिक बलात्कारपछि हत्या गरिएकी कैलाली गौरीगंगा नगरपालिका वडा नम्वर ११ की माया विकको मुद्दाको पेशी नौँ पटक सरेको छ। गत वर्षको साउन १३ गते जिल्ला अदालतमा अपहरण, जबर्जस्ती करणी र कर्तव्य जान गरी तीनवटा मुद्दा पाँच जनाविरुद्ध दर्ता गरिएको थियो। पछिल्लो पटक आज मात्रै प्रतिवादीका कानुन व्यवसायीको तर्फबाट मुद्दाको सुनुवाइ स्थगित भएको हो।

आज पनि अहिलेसम्म प्रतिवादीका कानुन व्यवसायीबाट र सरकारी वकिलबाट चारचार पटक र एक पटक इजलास नै नबसेर मुद्दाको पेशी सरेको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ। एक वर्षसम्म सुनुवाइ नै सुरु नहुँदा पीडित परिवारमा निराशा छाएको छ।

अभियुक्तहरू गौरीगंगा–११ का गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटी पुर्पक्षका लागि थुनामा छन्। बडुवालले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा मायाको बलात्कारपछि हत्या गरिएको प्रहरीको भनाई छ।

उनीसँगै गौरीगंगा नगरपालिकाको कार्यालयमा कार्यरत गणेश बडुवालले असार ८ गते मायासँग यौन सम्पर्कको प्रस्ताव राखेको र प्रस्ताव अस्वीकार भएपछि ११ असारमा जबर्जस्ती करणीको प्रयास गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

जबर्जस्ती गरेपछि मायाले धम्की दिएकी र अरूलाई भनिदिने डरले बडुवालले अन्य चारजनासँग मिलेर १२ असारमा मायाको बलात्कार गरी हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ। प्रहरीका अनुसार जङ्गलमा पाँचै जनाले बलात्कार गरेको र त्यही क्रममा उनको मृत्यु भएको बयान अभियुक्तहरूले दिएका छन्।

गाउँमा तथ्याङ्क सङ्कलनका लागि १२ असारमा घरबाट निस्केपछि बेपत्ता  चार दिनपछि जङ्गलमा दोपट्टाले हात पछाडि बाँधिएको र मुखमा पात कोचिएको अवस्थामा मायाको शव फेला परेको थियो।मायाका बुबा हर्कबहादुरले बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको मुद्दामा एक वर्षसम्म सुनुवाइ नै सुरु नहुँदा न्यायको अनुभूति गर्न नपाएको गुनासो गरेका छन्। 

गत भदौमा सुदूरपश्चिम प्रदेश सरकारले पाँच लाख र गौरीगंगा नगरपालिकाले एक लाख रुपैयाँ राहत स्वरूप मायाका परिवारलाई दिने निर्णय गरेका थिए। तर, न्याय पाएपछि मात्र राहत लिने भन्दै मायाका आफन्तले अहिलेसम्म राहत बुझेका छैनन्। जघन्य अपराधका मुद्दालाई निरन्तर सुनुवाइमा राखेर छिटो टुङ्ग्याउनुपर्ने कानुनी व्यवस्था भए पनि कैलाली जिल्ला अदालतमा उक्त मुद्दाको पेशी पटकपटक सर्दै आएको हो।

कमेन्ट लोड गर्नुस