होर्मुज जलडमरू बन्द गर्ने इरानको चेतावनी
काठमाडौँः अन्तर्राष्ट्रिय तनाव बढ्दै जाँदा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजिसी)ले अमेरिकाले ऊर्जा प्रतिष्ठानमा आक्रमण गरे होर्मुज जलडमरू पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार हाल जलडमरू औपचारिक रूपमा बन्द गरिएको छैन, तर अमेरिका र इजरायलको गतिविधिका कारण जहाजहरू उक्त मार्ग प्रयोग गर्न हिच्किचाइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज जलडमरू पूर्ण रूपमा खोल्न चेतावनी दिएपछि तनाव झन् बढेको हो। ट्रम्पले समयसीमा भित्र मार्ग नखोले इरानका पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्की दिएका छन्। यसको जवाफमा इरानी पक्षले ऊर्जा संरचनामाथि आक्रमण भए पुनर्निर्माण नभएसम्म जलडमरू नखोलिने स्पष्ट पारेको छ। साथै, अमेरिकी लगानी रहेका कम्पनीहरूलाई समेत लक्षित कारबाही गर्ने चेतावनी दिइएको छ। होर्मुज जलडमरू विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग हो, जहाँबाट करिब २० प्रतिशत तेल ओसारपसार हुन्छ। इरानसँग जोडिएको यो मार्ग फारसी खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्ने एक मात्र महत्वपूर्ण समुद्री बाटो हो। हालको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ, जसले विश्व अर्थतन्त्रमा थप प्रभाव पार्ने संकेत देखिएको छ।