८ महिनामा वैदेशिक व्यापार साढे १३ प्रतिशतले बढ्याे
काठमाण्डाै: चालू आर्थिक वर्षको पहिलो ८ महिनामा वैदेशिक व्यापार साढे १३ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो ८ महिनाको तुलनामा आयात १२ दशमलव ५४ प्रतिशत र निर्यात २० दशमलव ८३ प्रतिशत गरी कुल वैदेशिक व्यापार १३ दशमलव ५५ प्रतिशतले बढेको हो ।
विभागकाअनुसार साउनदेखि फागुनसम्ममा १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यसमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात र १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
वैदेशिक व्यापारसँगै व्यापार घाटा पनि बढेको छ । गएको वर्षको त्यही अवधिको तुलनामा व्यापार घाटा ११ दशमलव २२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ कायम भएको विभागले जनाएको छ ।
साउनदेखि फागुनसम्मको अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै छ । विभागकाअनुसार पछिल्लो ८ महिनामा ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।
त्यस्तै ८१ अर्ब १८ करोड ६४ लाख रुपैयाँ बराबरको कच्चा भटमास तेल आयात भएको छ । नेपालले धेरै निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । ८ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ । त्यस्तै ९ अर्ब ४९ करोड ६१ लाखको अलैँची निर्यात भएको छ ।
गएको फागुन मसान्तसम्ममा भारतबाट ७ खर्ब २४ अर्ब ६ करोडको वस्तु आयात हुँदा १ खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
व्यापार घाटा बढेको भए पनि निर्यात २० प्रतिशतभन्दा धेरैले बढ्नुलाई सकारात्मक सङ्केतका रूपमा हेर्नुपर्ने र यसले अर्थतन्त्र बिस्तारै गतिशील हुँदै गएको देखाउने विज्ञहरू बताउँछन् ।