लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुनः सुरु हुने तयारी
काठमाडौं: लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार यस वर्षबाट सुरु गर्ने भएका छन् । छ वर्षको अन्तरालपछि उक्त भूमि हुँदै दुई छिमेकी देशले फेरि सीमा व्यापार सुरु गर्ने तयारी गरेका हुन् ।
उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले व्यापारका लागि केन्द्र सरकारको आदेशअनुसार तयारी सुरु भइसकेको दाबी गरेका छन् ।
अहिले भारतीय नियन्त्रणमा रहेको उक्त क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । नेपालले आफ्नो नक्सामा पनि उक्त क्षेत्रलाई समावेश गरेको छ । यसअघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेकको विषयमा भारत र चीनले गरेको द्विपक्षीय सम्झौताको विरोध गरेको थियो ।