फाप्ला निर्माण प्रदेश सरकारको प्राथमिकतामा छ: मुख्यमन्त्री शाह
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण प्रदेश सरकारको पनि विशेष प्राथमिकतामा रहेको बताएका छन्।
शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम समितिका अध्यक्ष सुवाश शाहीबीच भएको भेटमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
भेटका क्रममा अध्यक्ष शाहीले परियोजनाको हालसम्म भएको प्रगति विवरण मुख्यमन्त्रीलाई जानकारी गराउँदै आगामी बजेटमा प्रदेश सरकारले पनि परियोजनालाई प्राथमिकता राख्न आग्रह गरेका थिए।
जवाफमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमको गेमचेञ्चरका रुपमा रहेको परियोजना निर्माणका लागि सुदूरपश्चिम प्रदेशले उच्च प्राथमिकतामा राखेको र थप बजेट विनियोजनका लागि संघीय सरकारसँग पनि आवश्यक पहल गर्ने मुख्यमन्त्री शाहले प्रतिबद्धता जनाए।
धनगढीमा निर्माणाधिन खेलग्रामको डीपीआर निर्माण तथा वातावरणीय प्रभाव मूल्यांकन(इआईए) जस्ता प्राविधिक कामहरु सम्पन्न भइसकेका छन्। पहिलो चरणमा परियोजना निर्माणका लागि झण्डै ११ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने अध्यक्ष शाहीले बताए। उनले भने, 'खेलग्रामको डीपीआर निर्माण तथा वातावरणीय प्रभाव मूल्यांकन(इआईए) जस्ता प्राविधिक कामहरु सम्पन्न भएका छन्। मुख्यमन्त्रीज्यूले नयाँ आर्थिक वर्षमा बजेटको व्यवस्था प्रदेश सरकारले गर्छ भन्नु्भएको छ।'