सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारविरुद्ध नेकपाको आरोप, हिउँदे अधिवेशन बोलाउन माग

२०८२ चैत्र ६, ०२:०४ खबर संवाददाता

धनगढीः प्रमुख प्रतिपक्षी दल नेकपाले सुदूरपश्चिम प्रदेश सरकारमाथि कुशासन, कमजोर कार्यसम्पादन र पारदर्शिताको अभाव रहेको आरोप लगाउँदै प्रदेश सभा अधिवेशन तत्काल आह्वान गर्न माग गरेको छ।

नेकपाका संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री कमलबहादुर शाहलाई ध्यानाकर्षण पत्र बुझाउँदै छैटौं अधिवेशन सकिएको लामो समय बित्दा पनि हिउँदे अधिवेशन नबोलाइएकोप्रति असन्तुष्टि व्यक्त गरे।

पत्रमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अत्यन्त कमजोर रहेको, सुशासन कायम हुन नसकेको र सरकारविरुद्ध जनगुनासा बढ्दै गएको उल्लेख गरिएको छ। साथै, प्रदेश सभा सचिवालयमा दर्ता भएका विधेयकहरू अघि नबढ्नुले सरकारको कार्यशैलीमाथि प्रश्न उठेको जनाइएको छ।

नेकपाले सरकारमाथि राजनीतिक नियुक्ति बाँडफाँट गरेर आफ्ना कार्यकर्ता खुशी पार्ने प्रयास गरेको आरोप पनि लगाएको छ। मुख्यमन्त्रीमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपहरूको छानबिन नभएको भन्दै जवाफदेहितामाथि पनि प्रश्न उठाइएको छ।

संसदलाई जनप्रतिनिधिहरूले सरकारलाई जवाफदेही बनाउने मुख्य थलो भन्दै नेकपाले एक हप्ताभित्र अधिवेशन आह्वान गर्न माग गरेको छ।

यसैबीच मुख्यमन्त्री शाहले विपक्षीको मागप्रति आफू गम्भीर रहेको बताउँदै छिट्टै प्रदेश सभा अधिवेशन बोलाइने आश्वासन दिएका छन्। साथै उक्त ध्यानाकर्षण पत्रको प्रतिलिपि प्रदेश सभाका सभामुखलाई पनि पठाइएको छ।

कमेन्ट लोड गर्नुस