कञ्चनपुरमा फागुन महिनामा ३७ सवारी दुर्घटना, ३ जनाको मृत्यु
कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै मानव सुरक्षा, सवारी व्यवस्थापन तथा खोजतलास कार्यमा उल्लेखनीय गतिविधि भएको जनाएको छ।
प्रहरीका अनुसार फागुन महिनामा हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक गरी कुल ३४ जनाको विवरण दर्ता भएकोमा २७ जना फेला पारिएको छ। हराउनेमध्ये १६ महिला हराएका थिए भने १२ जना फेला परेका छन्। यस्तै ८ बालक हराएकोमा ५ जना र १० बालिका हराएकोमा ७ जना फेला पारिएको प्रहरीले जनाएको छ।
यसै अवधिमा कञ्चनपुरमा ३७ वटा सवारी दुर्घटना भएका छन्, जसमा ५० वटा सवारी साधन संलग्न रहेका थिए। दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन्। घाइतेमध्ये २१ जनाको उद्धार प्रहरीद्वारा गरिएको जानकारी दिइएको छ।
सवारी नियम उल्लंघनविरुद्ध प्रहरीले ५७२ वटा कारवाही गरेको छ, जसबाट ४० हजार १३० रुपैयाँ राजश्व संकलन भएको छ।
दुर्घटनाको कारण विश्लेषण गर्दा चालकको लापरवाही मुख्य कारण देखिएको छ, जसबाट १७ दुर्घटना भएका छन्। त्यसैगरी सवारी साधनको अवस्थाका कारण ३, यात्रुको कारण २, सडकको अवस्थाका कारण ३, मौसमको कारण ५ र चौपायाका कारण ७ दुर्घटना भएका छन्।
जिल्ला प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना, निगरानी तथा कारवाहीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।