चार हजारको लगानीबाट मासिक एकलाख आमदानी गर्छन कैलालीका अमृत चौधरी
धनगढीः कैलालीका मुक्त कमैया परिवारका अमृत चौधरी सामान्य लगानीको व्यापारबाट मनग्गे आम्दानी गर्न सफल भएका छन्।
कैलालीको कैलारी गाउँपालिका–७, विपतपुर मुक्त कमैया शिविरका उनले सडकछेउमा सामान्य चियानास्ताको व्यापार गरी मासिक डेढ÷दुई लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएका हुन्। चौधरीले विपतपुर मुक्त कमैया बस्तीनजिक हुलाकी राजमार्ग किनारमा खुला आकाशमुनि चियानास्ताको व्यापार गरिरहेका छन्।
पछिल्लो समय हुलाकी राजमार्ग स्तरोन्नति भई मान्छेको आवतजावतमा वृद्धि भएपछि उनको पसलमा ग्राहक आउने गरेका छन् । ‘राजमार्ग भएर हिँडडुल गर्ने धेरै जसो व्यक्ति चियानास्ता खान रोकिने गरेका छन्’ उनले भने,‘व्यापार ठिकठिकै चलिरहेको छ ।’
चौधरीले राजमार्ग किनारमा यो व्यापार चार हजार रुपियाँ लगानीमा सुरु गरेका थिए। चियानास्ताको दैनिक १० हजारभन्दा बढीको कारोबार हुने गरेको उनले उल्लेख गरे। ‘कुनै दिन योभन्दा बढीको पनि कारोबार हुने गर्दछ’ उनले थपे, ‘कारोबारको करिब आधा जति बचत भइरहेको छ ।’
मुक्त कमैया बस्तीका धेरै जसो मानिसका गुजाराको विकल्प मजदुरी रहेको छ । जीविकोपार्जनका लागि उनीहरू काम गर्न प्रायः भारत जाने गरेका छन् । थोरै लगानीमा भए पनि आफूले व्यापार थालेपछि मजदुरी गर्नु नपरेको चौधरीले बताए। ‘आइडिया लगाएर काम ग¥यो भने यहीँ पनि कमाउन सकिन्छ’ उनले भने, ‘घरमा यत्तिकै बस्नुभन्दा मैले यो काम थालेँ । मजदुरी गर्न भारत जानु परेको छैन ।’
मुक्त कमैया महिला विकास मञ्च नामक संस्थाको सहयोगमा पूर्वकमैयाका परिवारलाई चियानास्तासम्बन्धी तालिम प्रदान गरिएको थियो। सो तालिम लिएकाले व्यापार गर्न सहज भएको छ । मनीषा चौधरीले भनिन् ‘जसरी आम्दानी हुँदै गयो, हामीले अरू सामान थप्दै गइरहेका छौँ । राम्रो भइरहेको छ ।’