सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्यास अभावपछि इन्डक्सन प्रयोग गर्न आग्रह

२०८२ चैत्र १, ०७:१६ खबर संवाददाता

काठमाण्डौँः बजारमा खाना पकाउने एलपी ग्यास अभाव हुन थालेपछि त्यसको विकल्पमा विद्युतीय चुलो (इन्डक्सन) प्रयोग बढ्न थालेको छ । सरोकारवाला संस्थाले पनि उपभोक्तालाई इन्डक्सनकै प्रयोग आग्रह गरेका छन् । 

अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा देखिएको तनावबाट ग्यास आपूर्ति प्रभावित भइरहेको छ । आपूर्तिमा समस्या देखिन थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले उपभोक्तालाई यस्तो आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको खपत कम हुने गरी बिजुलीको प्रयोग बढाउन सकिने बताए। 

इन्डक्सन, राइस कुकुर प्रयोग गर्दा वातावरणमैत्री पनि हुने र ग्यासभन्दा सस्तो पर्ने भएकाले विकल्पमा प्रयोग गर्न सकिने उनको भनाई छ। 

बजारमा माग अनुसार आयात नहुँदा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । निगमले बजारमा ग्यासको अभाव कम गर्न शुक्रबारदेखि आधा तौल भएको ग्यास सिलिन्डर बिक्री सुरु गरेको छ । निगमले ग्यासको सट्टा बिजुलीको खपत बढाउने, राइड सेयरिङको व्यवस्था गर्ने, विद्युत्का लागि जेनेरेटर नचलाउन उपभोक्तालाई आग्रह गरेको छ । ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न आमउपभोक्तालाई साल्ट ट्रेडिङ कर्पोरेसनले पनि आग्रह गरेको छ । 

मध्यपूर्वी देशमा देखिएको तनावले ग्यास आपूर्तिमा समस्या हुने धेरैको आशङ्का छ । नेपालले भारतबाट आपूर्ति गर्ने हुँदा मध्यपूर्वको समस्याले नेपालमा पनि प्रभाव पर्छ भन्ने डरमा आमउपभोक्तामा छ ।  

बजारमा विभिन्न ब्रान्डका विद्युतीय चुलो पाइने गर्छन् । ग्यासभन्दा सस्तो पर्ने र खाना पकाउन छिटोछरितो हुने हुँदाको यसको प्रयोग उपयुक्त देखिन्छ । व्यवसायीका अनुसार बजारमा सामान्य तीन हजारदेखि उच्च गुणस्तरका १० हजार रुपियाँ सम्मका विद्युतीय चुलो बजारमा उपलब्ध छन् । 

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार सेट नभएको चुलोको मूल्य चार हजारदेखि पाँच हजार, सेटसहितको चुलो सात हजारदेखि नौ हजार पाँच सय रुपियाँसम्ममा खरिद गर्न सकिन्छ । 

निगमका प्रवक्ता मनोज ठाकुरले मध्यपूर्वको प्रभाव पर्ने आशङ्का अहिले धेरै उपभोक्ताले घरमा भएका सबै खाली सिलिन्डरसमेत भर्न थालेपछि बजारमा ग्यास आपूर्तिमा केही असहज देखिएको जानकारी दिए। ग्यासमा पूर्ण रूपमा आयातमा भर पर्नुपर्ने भएकाले उपभोक्ताले पनि सुरक्षात्मक प्रबन्ध गर्न जरुरी भएकाले विद्युतीय चुलो प्रयोग गर्न उनले आग्रह गरे। 

सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराएको छ । महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपियाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुने व्यवस्था गरिएको छ । 

ग्यास अभावको हल्लाले उपभोक्तालाई समस्या नहोस् भन्ने उद्देश्यले निगमले टेकुस्थित निगमको कार्यालयपरिसरबाट विभिन्न ब्रान्ड ग्यास  बिक्रीवितरणसमेत गर्दै आएको छ ।

निगमका अनुसार बजारमा करिब एक करोड ४० लाख ग्यास सिलिन्डर छन् । दैनिक ३० लाख सिलिन्डर खपत हुन्छन् । पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर गाउँ गाउँमा ग्यासको प्रयोग बढ्दै गएकाले खपतसमेत बढ्दै गएको छ ।  

कमेन्ट लोड गर्नुस